काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी परिवारवाद र विधिविपरीत कुनै पनि गतिविधिमा नजाने स्पष्ट पारेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा समावेश केही व्यक्तिबारे उठेका आलोचनाप्रति जवाफ दिएका हुन्।

लामिछानेले सूची तयार गर्ने क्रममा हतारका कारण केही कमजोरी हुनसक्ने स्वीकार गर्दै त्यसलाई पुनरावलोकन (रिभ्यू) गरिने बताए। नयाँ राजनीतिक दलहरूबीच सहकार्य र छलफल एकैसाथ चलिरहेकाले सूची तयारीमा अपेक्षित ध्यान पुग्न नसकेको हुनसक्ने उनको भनाइ थियो।

उनले भने, ‘सार्वजनिक चासोमा आउनुभन्दा अघि नै सूची रिभ्यू गर्ने समय हुन्छ भन्ने कुरालाई ध्यानमा राखेका छौँ। कुलमानजीसँग पनि अन्तिम समयमा छलफल भएको थियो। उता सूची बुझाउनुपर्ने दबाब थियो, यता सहमति जुटाउने प्रक्रिया चलिरहेको थियो।’

लामिछानेले पार्टी यस विषयमा सचेत रहेको उल्लेख गर्दै थप दुई दिन समय लिएर सबै जायज गुनासोहरू सम्बोधन गरिने बताए। उनका अनुसार, राजनीति दुषित बन्दै जाँदा सचेत नागरिकहरू राजनीतिमा सक्रिय हुन थालेका छन्, जुन सकारात्मक संकेत भएको उनको धारणा थियो।