काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीचको सम्भावित सहकार्यप्रति कटाक्ष गरेका छन्। उनले उक्त एकतालाई ‘बाख्रा र कुखुराको मोर्चाबन्दी’को संज्ञा दिँदै त्यसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन्।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको आकार र प्रभाव देखेर विभिन्न शक्तिहरू एकआपसमा जुट्न खोजिरहेको टिप्पणी गरे।
उनले भने, ‘विशालकाय एमालेसँग भिड्नुछ। अनि लौ न मिलौँ भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिला हुन्छ ?’
अध्यक्ष ओलीले देशमा को लोकप्रिय छ भन्ने विषय निर्वाचनसँगै छिनोफानो हुने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति पनि व्यंग्य गरे। उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरिएको भन्दै लोकप्रियतामाथि प्रश्न उठाए। खेलको उदाहरण दिँदै ओलीले भने, ‘खेलमा को कतिबेला पछारिन्छ थाहा हुँदैन, तर अन्त्यमा उत्कृष्ट खेलाडीले नै जित्छ।’
एमालेको महाधिवेशनबाट धेरै कुराको जवाफ दिइसकेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय फैसला हुने दाबी गरे। निर्वाचनबाट हामी राष्ट्रिय निर्णय दिनेछौँ, उनले भने। लोकतन्त्र अजेय रहेको उल्लेख गर्दै उनले लोकतन्त्रलाई कसैले हराउन नसक्ने दाबीसमेत गरे।


0 comment