काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौं लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका हुन् । 

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए। प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरुलाई महसुस भएको धारणा राखे । 

उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थिति अहिले नरहेको जिकिर गरे । त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरी प्रयोग भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरुविरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए ।