काठमाडौ:टोखा नगरपालिका वडा नं. ९ अन्तर्गत गोंगबु मंगलटोलस्थित एक घरबाट लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

 प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त घरमा डेरा गरी बस्दै आएका कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–२ स्थायी घर भएका २४ वर्षीय धनबहादुर विष्टको शरीर तथा डेरा कोठा चेकजाँच तथा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लागू औषधजन्य पदार्थ खैरो हेरोइन  ८६ पुडिया निलो–कालो प्लाष्टिकमा पोका पारी लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तराजुमा तौल गर्दा प्लाष्टिकसहित ७४.४८ ग्राम र प्लाष्टिक बाहेक ४५.१८ ग्राम तौल रहेको पाइएको छ।

त्यसैगरी, घटनास्थलबाट विभिन्न कम्पनीका मोबाइल फोन ७ थान, नेपाली नगद रु. ३५ हजार र डिजिटल तराजु १ थान समेत बरामद गरिएको छ।
बरामद सामग्रीसहित धनबहादुर विष्ट माथी लागू औषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।