काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग पुर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
आज शीतलनिवास पुगेर दुवै जनाले राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।
राष्ट्रपति र नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता समेत रहेका खनालबीच करिब एक घण्टा चलेको छलफलमा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको दुबै प्रकारका घटनाहरूको बारेमा र त्यसका कारणहरुको बारेमा छलफल भयो। एउटा बाध्यात्मक परिस्थितिमा अहिलेको सरकार बनेको र अब यसको प्रमुख दायित्व निर्वाचन गराउनु रहेको पनि छलफलमा जोड दिइएको बताईएको छ ।
छलफलमा निर्वाचनको कुनै विकल्प नभएको उल्लेख गर्दै, निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी, सबै राजनीतिक दल र सरोकारवालाबीच सहमति कायम गरी निर्वाचन सम्पन्न गरेर मुलुकलाई नयाँ निकास दिनुपर्नेबारे पनि छलफल भएको जनाइएको छ।
राष्ट्रपतिले पनि आगामी २१ फागुनमा निर्वाचन गरिनुपर्नेमा आफ्नो जोड रहेको बताएका थिए।
भेटका क्रममा राष्ट्रपतिले खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक समेत रहेका नेपालबीच पनि आज भेटवार्ता भएको छ। नेता नेपालले पनि शितलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्।
करिब एकघण्टा चलेको छलफलमा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।


0 comment