काठमाडौं - नेकपा एमालेले राजनीति दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।

छलफलपछि एमाले उपमहासचिव रघुविर महासेठले आफूहरु निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताए । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थानहद तोकिएको उनले भनाइ थियो।

उनले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारे। महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिए।

त्यस्तै उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको बताए । एमालेका नेताहरुले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको उनले बताए । खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने सरकारले प्रतिबद्धता जनाएको धारणा राखे ।

त्यस्तै उनले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने बताए । निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागलाई सरकारले बेवास्ता नगर्ने उनको भनाइ छ ।