काठमाडौं - नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेस चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । 

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालको निरीक्षण गर्न सानेपा पुगेका सरकारी वार्ता टोलीसँगको छलफलका क्रममा उपसभापति गुरुङले सरकारले चुनावको रटान लगाएपनि तयारीमा केही कमजोरी भएको महसुस भएको बताए । उपसभापति गुरुङले सरकारसँग सहमति गरेका जेनजीहरुले नै चुनाव हुन दिन्नौ भनेर हिँडेको भन्दै उनीहरुलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

त्यसैगरी उनले सुरक्षा निकायको मनोबन उच्च बनाउदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरु र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहीदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा कानून मन्त्री अनिलकुमार सिन्हा,सञ्चारमन्त्री जगदीश खरेल,  र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।