काठमाडौं - नेकपा एमालेका नेता ईश्वर पोखरेल समुहका नेताहरूको आज काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतन्त्रीकरण जस्ता मुद्दाहरूलाई पार्टीको विधि र विधान भित्रै बसेर उठाइरहने निष्कर्ष निकालेको छ । आफ्ना विचारहरूलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी यो पक्षले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव योगेश भट्टराईले भने, ‘हाम्रो भेलाले एमालेलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीभित्रै रहेर, महाधिवेशनका क्रममा हामीले उठाएका विषयहरू पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, तथा आन्तरिक लोकतान्त्रिकरणसम्बन्धी विचारहरू पार्टीको विधान र कानुनको दायराभित्र निरन्तर उठाइरहने निष्कर्षमा पुगेका छौँ।

भेलाले महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणका लागि रचनात्मक भूमिका खेल्ने अठोट गरेको छ ।

यद्यपि, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको भन्दै यो पक्षले गम्भीर चिन्ता व्यक्त गरेको छ । 
लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोमा आपत्ति जनाउँदै आगामी दिनमा यस्ता प्रवृत्ति विरुद्ध सचेत रहने भट्टराईले बताएका छन् ।आगामी केन्द्रीय कमिटीको बैठकबारे पनि समीक्षा गर्ने बताए।

पार्टीभित्र हुन सक्ने गुटबन्दी र नेता-कार्यकर्तालाई काखापाखा गर्ने कुनै पनि प्रयास वा प्रस्ताव आएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय समेत भेलाले गरेको छ । नेता भट्टराईले पार्टीभित्र कुनै पनि किसिमको अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पार्दै वैचारिक र पद्धतिगत सङ्घर्षलाई नै प्राथमिकता दिने बताएका छन् ।

महाधिवेशनपछिको यो भेलालाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ । लोकतान्त्रिक अभ्यासमा भाग लिएका कारण परिणामलाई सहज रूपमा स्वीकार गरेको समेत उनले बताए।