काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन नै एकमात्र विकल्प रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत् मात्र संविधानअनुसारको शासन व्यवस्था अघि बढाउन सकिने स्पष्ट पारिन् ।
‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले अहोरात्र खटिएर तयारीका कामहरू तीव्र रूपमा अगाडि बढाइसकेको जानकारी दिइन् । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूप सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको पनि उनले बताइन् ।
निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले २३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाइरहेको बताइन् ।


0 comment