काठमाडौं - एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ११ औं महाधिवेशनमा उम्मेदवार नबन्ने  घोषणा गरेका छन्। 

भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताइन्। उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।’

त्यस्तै, अर्का उपाध्यक्ष ज्ञवालीले पनि ७० वर्ष नाघेकाले महाधिवेशनमा उम्मेदवार नबन्ने बताए। केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले भने, ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ।’ उमेरहद लगाउँदा पार्टीमा पुस्तान्तरण गर्न सजिलो हुने उनीहरुको भनाई छ । तर,केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्द ७० वर्षे उमेरहद हटाएका थिए।