काठमाडौं - खजुरीको नेपाल प्रालिले उत्पादन गरेका दुई ब्याचका पफमा स्वीकार्य सीमा भन्दा बढी ट्रान्सफ्याट भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल बिक्री वितरणमा रोक लगाएको छ । साथै बजारमा गइसकेका उत्पादन फिर्ता (रिकल) गर्न पनि निर्देशन दिएको छ।
विभागका अनुसार बजार अनुगमन तथा उद्योगबाट संकलित खजुरीको नेपाल प्रालिका ब्याच B1–3A र B1–5A मा ट्रान्सफ्याटको मात्रा कानुनी सीमा २ प्रतिशतभन्दा बढी पाइएपछि यस्तो कदम चालिएको हो। विभागकी प्रवक्ता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले अन्य ब्रान्डका पफ उत्पादन पनि परीक्षण प्रक्रियामा ल्याइएकाले सम्पूर्ण बजारमा कडाइका साथ अनुगमन भइरहेको बताइन्।
समस्या देखिएका पफ पूर्ण रूपमा नष्ट गर्नुपर्ने विभागको भनाइ छ।कानुनअनुसार तोकिएको गुणस्तर पूरा नगर्ने वा मानव उपभोगका लागि सुरक्षित नभएको खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्नुपर्ने र यसको विवरण सात दिनभित्र पेश गर्नुपर्ने व्यवस्था छ।
खजुरीको नेपाल प्रालिले भने दुई ब्याचमा देखिएको कमजोरी स्वीकार्दै ती पफ तुरुन्त फिर्ता लिइरहेको जनाएको छ। तर कम्पनीले उक्त दुई ब्याचबाहेक बजारमा रहेका आफ्ना सबै उत्पादन उच्च गुणस्तरयुक्त रहेको दाबी गरेको छ।



0 comment