काठमाडौं - सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिदैछ ।
आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले बताए ।
मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
सात दलले सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका लागि आजसम्मको समयसीमा दिएका थिए । सोही अनुसार आज दलहरूको दौडधुप बढेको छ ।
यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले सिन्धुलीको एक होटेलमा सपथ लिएका थिए।


0 comment