काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकमा देखिएको राष्ट्रिय संकट अझै पूर्ण रूपमा टरिनसकेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्।

पोखराको मानवअधिकार चोकमा आइतबार आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै दाहालले वर्तमान कम्युनिस्ट एकता सत्ता वा चुनाव प्रयोजनका लागि मात्र नभई राष्ट्रलाई वैदेशिक चलखेल र हस्तक्षेपबाट जोगाउनका लागि गरिएको महान् राष्ट्रिय आन्दोलन भएको दाबी गरे।

उनका अनुसार नेपालमा प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिको सक्रियता अझै पनि जारी रहेको र कुनै पनि बेला नयाँ घटनाक्रम सिर्जना गर्नेतर्फ भित्री प्रपञ्चहरू चलिरहेका छन्।  उनले अहिलेको परिस्थिति ‘राष्ट्रिय स्वाधीनताको रक्षा’नै मुख्य चुनौती भएको बताए।

दाहालले यो एकतालाई आत्मालोचना तथा संकल्पको प्रक्रियासँग जोड्दै विगतका कमजोरी सच्याएर राष्ट्र र जनताको हितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

आसन्न निर्वाचन फागुन २१ कै दिन हुने निश्चित भएको बताउँदै दाहालले द्विविधामा नबस्न आग्रह गरे।