काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी नेतृ रञ्जु दर्शनाले आफू ‘बिलाउन नभई मिलाउन’ आएको स्पष्ट पार्दै संगठन सुदृढीकरणमै आफ्नो ध्यान रहने बताएकी छन्।
आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले धेरैले आफू र उनको समूह रास्वपामा बिलाउन आएको टिप्पणी गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको बताइन्।
‘मिडियाका साथीहरूले र एकता मन नपराउनेहरूले बारम्बार तिमीहरू बिलाउन गयौँ भन्छन्। हामी बिलाउन हैन, मिलाउन आएका हौं। सबैले स्पष्टसँग सुन्नुहोला,’ दर्शनाले भनिन्।
उनले विगतमा धेरै टुटफुटको अनुभूति भोगिसकेको उल्लेख गर्दै अबको राजनीति ‘जुटको राजनीति’ हुनुपर्ने आवश्यकता औंल्याइन्।
‘यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ। तर हामीले टुटफुटले ठूलो पाठ सिकिसकेका छौँ। अब राजनीति टुटेर होइन, जुटेर गर्ने समय हो,’ उनले भनिन्।
दर्शनाले देश समृद्ध बन्न वैकल्पिक शक्तिले बहुमत ल्याउनु अपरिहार्य भएको दाबी पनि गरेकी छन्।


0 comment