काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने अडान सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कांग्रेसले वर्तमान सभापतिका हस्ताक्षरमा चुनाव लड्ने भन्ने आशंका सत्य नभएको स्पष्ट पारे। पार्टीभित्र महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछाडि भन्ने विवाद तीव्र बन्दै जाँदा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर राखेर दल दर्ता गरिनुले नेतृत्व हस्तान्तरणको प्रक्रिया अझै अनिश्चित बनाएको भन्दै थापाले यसले महाधिवेशनको विवाद झनै चर्काएको टिप्पणी गरेका छन्।

‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापति चयन हुन्छ र नयाँ नेतृत्वकै हस्ताक्षरमा निर्णय सच्याएर निर्वाचन आयोगमा पठाइनेछ,’ थापाले उल्लेख गरेका छन्।

निर्वाचन आयोगमा देउवाकै नाम पठाइनु आगामी निर्वाचनमा टिकट वितरण उनको नेतृत्वमै हुने संकेत भएको भन्दै थापाले यदि नियमित महाधिवेशन नभए पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनैपर्ने धारणा दोहोर्याए।

संस्थापन पक्ष भने निर्वाचनअगाडि कुनै पनि हालतमा महाधिवेशन गर्नु नहुने अडानमा रहँदै आएको छ। तर देउवाकै नाम आयोगमा दर्ता भएपछि उनी स्वयं पनि चुनावअघि महाधिवेशन नगरी टिकट वितरणमा सक्रिय हुन खोजेको देखिएको थापाको मूल्यांकन छ।

कानुनतः दल दर्ताका लागि सभापतिको नाम अनिवार्य नपर्ने, कार्यवाहक सभापति खड्काको नाम पठाउन सकिने अवस्थाबारे संकेत गर्दै थापाले देउवाले आफ्नै हस्ताक्षर प्रयोग गर्नु नै सक्रिय रहन चाहेको प्रमाण भएको बताएका छन्।