काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।
एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयोजकको जिम्मेवारी पाएका श्रेष्ठ भने आफैं विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरीका अनुसार उनीविरुद्ध ७ वटा फौजदारी मुद्दा छन् ।
संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेकी छिन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराए।
फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालले बताए। कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बताए । गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।
पुष्पराजको पृष्ठभूमि
२०६३- ज्यान मार्ने उद्योगको कसुर
२०६४- ज्यान मार्ने उद्योगको कसुर
२०६५- ज्यान मार्ने उद्योगको कसुर
२०६७- सार्वजनिक अपराधको कसुर
२०७०- अपहरण तथा शरीर बन्धकको कसुर
२०७३- ज्यान मार्ने उद्योगको कसुर
२०७५- अभद्र व्यवहारको कसुर
स्रोतः नेपाल प्रहरी




0 comment