काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको हालैका भनाइ र कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेसनल भोलन्टियर फोर्सको ‘कमाण्ड घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँगको छलफलका क्रममा राखेको अभिव्यक्तिले अस्थिरता झनै बढाउने आरोप लगाए।
प्रधानमन्त्री कार्कीले केही दिनअघि, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्न सक्छ’भनेर चेतावनी दिएको विषयमा प्रतिक्रिया दिँदै ओलीले सो अभिव्यक्ति ‘कच्चा’ र असंवैधानिक प्रवृत्तिको संकेत भएको बताए।
अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने,‘संविधानसम्मत भएर तपाईं प्रधानमन्त्री बन्नुभएको होइन, असंवैधानिक बाटोबाटै आएको सरकार हो। प्रतिनिधिसभा पुनर्स्थापना हुनु आवश्यक छ। जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ, लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ। यसो भन्न पाइँदैन रे?’
उनले भने,‘लोकतन्त्रको कुरा उठाउन नपाइने? तपाईं त राणा शासनभन्दा पनि कडा निस्किनुभयो त! मोहन शमशेरले समेत लोकतन्त्रका लागि सम्झौता गरेका थिए। संविधान मास्न दिइँदैन। लोकतन्त्र फर्काइनेछ।’ ओलीका अनुसार वर्तमान सरकारलाई स्वीकार्न नसक्ने बताएका छन्।


0 comment