काठमाडौं - तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कमान्ड सम्हालिरहेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।
उनी हाल उपत्यका विशेष प्रदेशका उपाध्यक्ष पनि रहेका थिए। पाण्डेले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि समेत पार्टी र प्रचण्डले प्रभावकारी निर्णय गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेकपा विभाजनपछि र सरकारले प्रचण्डको सुरक्षादस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो।
राजीनामा पत्रमा पाण्डेले लेखेका छन् :
‘घटनाक्रममा निरन्तरता हुन थालेपछि उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यका रूपमा बसिरहनु उचित नलागेर राजीनामा पेस गरेको छु। मलाई थाहा छ, यो निर्णय मेरो ठूलो परीक्षा पनि हो। ती सबै आरोपहरूको राजनीतिक प्रतिवादका लागि म तयार छु।’उनले आफूले पार्टीमा रहँदासम्म कुनै व्यक्तिगत लाभ नलिएको दाबी गर्दै लेखेका छन्,
‘मैले तपाईं र पार्टीमा रहँदासम्म इमान बेचिनँ। कुनै फाइदा लिइनँ। नि:स्वार्थ रूपमा विचार र नेतृत्वको रक्षा गरेँ। स्वभावजन्य व्यवहारले कसैलाई मन दुखाएको भए यस पत्रमार्फत क्षमा माग्दछु।’ राजीनामा पत्रमा पाण्डेले प्रचण्डप्रति भावनात्मक सम्बोधन पनि गरेका छन्।
‘के प्रचण्ड ब्रिगिँदै जानु भएको हो त? अन्तरहृदयदेखि मन उद्वेलित छ। तपाईंको सुरक्षाका लागि लामो समय खटिएको सिपाहीका रूपमा म आज निकै भावुक छु,‘ उनले लेखेका छन्, ‘आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई बढी सम्झिएको छु। सायद उहाँहरू जीवित हुनुभएको भए, मैले यो लेखिरहनु पर्दैनथ्यो।’
हाल उनी जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’को केन्द्रीय संयोजन समितिमा पनि छन्।




0 comment