काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई असंवैधानिक र प्रतिगामी भनेका छन्।
शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले कार्कीले संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाए।
ओलीले भने, ‘संविधानले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न नदिने व्यवस्था छ। मानव अधिकार आयोगबाहेक कुनै पदमा रहन नपाउने भनिएको छ। तर पूर्वप्रधानन्यायाधीश आफैंले संविधान मिचेर प्रधानमन्त्री बन्नु सोझै प्रतिगामी काम हो।’
उनले प्रधानमन्त्री कार्कीलाई हाहुको भरमा बनेको सरकार भन्दै व्यंग्य समेत गरे। ‘डिस्कर्डबाट प्रधानमन्त्री बन्ने रे! सभ्य समाजमा यस्तो सम्भव हुन्छ?‘ उनले प्रश्न गरे ।
ओलीले यो सरकार लोकतन्त्र, संविधान र जनप्रतिनिधित्वविरुद्ध खडा भएको आरोप पनि लगाए । उनका अनुसार अहिलेको शासन प्रतिगमनको नयाँ रूप हो ।


0 comment