काठमाडौं - देशका प्रमुख वामपन्थी शक्तिहरू एकत्रित हुँदै नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ । 

बुधबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका वामपन्थी दलहरूबीच एकता हुँदै नयाँ पार्टीको घोषणा गरिएको हो ।

नवगठित पार्टीको संयोजकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् । खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

दाहाल माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा (एस) का अध्यक्ष रहेर वाम राजनीतिमा सक्रिय थिए ।

पार्टीको संयोजन संरचना सम्बन्धी प्रस्ताव नेता महिन्द्र राय यादवले पेस गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको बताइन्छ ।

पार्टी एकता घोषणापछि वाम नेताहरूले देशमा राजनीतिक स्थिरता, सुशासन र समाजवादउन्मुख समृद्ध अर्थतन्त्र निर्माणका लागि नयाँ पार्टी महत्वपूर्ण मोड बन्ने बताएका छन् । पार्टीले निकट भविष्यमै विस्तारित बैठक बोलाई संगठनात्मक संरचना, नीति तथा कार्यक्रम र आगामी राजनीतिक कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको  छ ।