काठमाडौं - नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ९ वटा दल र समूहबीच हुने एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको मंगलबार प्रज्ञा प्रतिष्ठानमा बसेको पूर्ण र अन्तिम बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
माओवादी नेता रामप्रसाद सापकोटाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘तारा’ रहनेछ। उनका अनुसार माओवादी केन्द्रले पारित गरेको यो प्रस्तावबारे अन्य एकतामा रहेका दलहरूसँग थप छलफल गरेर अघि बढाइनेछ।
बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूसँग औपचारिक एकता घोषणा गरिने जानकारी दिए। उनका अनुसार एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिनेछ।
प्रवक्ता सापकोटाले एकीकृत पार्टीले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र सामाजिक न्यायसहित मुलुकको रुपान्तरणका लागि बृहत् कम्युनिस्ट एकता आवश्यक भएको बताए। उनका अनुसार पार्टीको सिद्धान्त माक्सवाद–लेनिनवाद रहनेछ भने कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवादमा आधारित हुनेछ।


0 comment