काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने अहिले उपयुक्त समय नभएको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव भुसालले विचार र संगठनात्मक रुपान्तरण बिना हुने एकता दीर्घकालीन हुन नसक्ने बताएका हुन्। उनका अनुसार पार्टी एकताका विषयमा हतारमा निर्णय गर्नु बुद्धिमानी हुने छैन।
‘विचार, नीतिगत स्पष्टता र संगठनको रूपान्तरणपछि मात्र एकता सम्भव हुन्छ,’ भुसालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरूबीच मात्रै हुने एकताले समस्याको समाधान गर्दैन।’
पार्टीको बैठकमा माओवादी केन्द्रसँग एकतालाई अन्तिम रूप दिने विषय मुख्य एजेन्डाका रूपमा उठाइएको छ। तर महासचिव भुसाल र सम्मानित नेता झलनाथ खनाल अहिले एकता नगर्ने पक्षमा उभिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार सक्ने तयारी गरिएको छ।


0 comment