काठमाडौं - नेपाली कांग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उनले सोमबार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् । 

उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गरे । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियाननै चलाएको जिकिर समेत गरे । उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए । 

पूर्वमन्त्री खड्काले भने,‘उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानुनी राज्यको विषयमा उहाँ राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ? म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’ नेता खड्काले आफू र श्रीमती डेंगु लागेर बिरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिए ।