काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा उछृङ्खल व्यक्तिहरूले क्षति पुर्याएको बताएका छन् ।
७० औ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र नभई नागरिक जीवनलाई समेत प्रभाव पारेको बताए । गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएको प्रति दु:ख व्यक्त गर्दै अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे ।
उनले सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको समेत बताए ।’
उनले प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका बताउदै यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको समेत बताएका छन् ।
यसैगरी कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको डटेर सामना गर्ने बताएका छन् । उनले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको समेत बताए ।
महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात् उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।


0 comment