काठमाडौं - मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा आजै मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गरेका थिए ।

त्यसो त काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । उनले जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको जनाउदै दाबी पेस गरेकोमा जनमतले त्यसलाई खण्डन गरेको थियो ।

 त्यसपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै मुख्यमन्त्री नियुक्ति भएको जनाएको थियो । मुख्यमन्त्री नियुक्तिलाई लिएर दुवै पक्ष मधेश प्रदेश प्रमुख कार्यालयमा पुगेपछि तनावसमेत भएको थियो ।