काठमाडौं - नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग चुलिँदै जाँदा २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्।
देशभरबाट संकलित हस्ताक्षरहरू कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुझाएका हुन्।फाइल बुझेका उपसभापति खड्काले 'जय नेपाल' बाहेक कुनै प्रतिक्रिया जनाएनन् ।
नेता घिमिरेका अनुसार, यो संख्या १४औं महाधिवेशन प्रतिनिधिहरूको कुल संख्याको करिब ५३ प्रतिशत हो। उनले भने, ‘वर्तमान विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र दिशा दिन विशेष महाधिवेशन अपरिहार्य छ।’
उनका अनुसार यो कदम पार्टीभित्र विवाद वा विद्रोहको रूपमा नभई ऐतिहासिक अभ्यासको निरन्तरताका रूपमा अगाडि ल्याइएको हो। ‘स्व. सुवर्णशम्शेर राणालगायतले जुन असल अभ्यास सुरु गर्नुभएको थियो, त्यसैलाई महाधिवेशन प्रतिनिधिहरूले अहिले अबलम्बन गरेका छन्,’ घिमिरेले बताए।
कांग्रेसभित्र जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति र आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ। नेतृत्वको आमूल पुनर्संरचना आवश्यक भएको भन्दै पार्टीभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको हो।
यसअघि पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा स्पष्ट रूपमा उभिएका छन्। उनीहरूले नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्था आएमा वैकल्पिक रूपमा विशेष महाधिवेशन मार्ग अपनाउनुपर्ने बताउँदै आएका छन्। अब, हस्ताक्षरपत्र प्राप्त गरेपछि पार्टी नेतृत्वको प्रतिक्रिया र आगामी कार्ययोजना के हुने हो भन्नेमा सबैको चासो केन्द्रित छ।


0 comment