काठमाडौं - मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

उनको दाबीमा कांग्रेसका २२, एमालेका २८ र जनमत पार्टीका ८ सांसदको समर्थन रहेको बताइएको छ। यादवसँगै एमाले नेता सरोजकुमार यादवलगायत नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए।

तर, यसअघि लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ६ दलको समर्थनसहित ५७ सांसदको हस्ताक्षरसहित दाबी पेस भइसकेको छ।

जनमत पार्टीले दुई पक्षसँग हस्ताक्षर दिएको अवस्थामा प्रदेश सरकार निर्माणमा अन्योल बढेको छ। जनमत संसदीय दलका नेता महेश यादवले एमाले–कांग्रेस गठबन्धनमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।

‘हाम्रो हस्ताक्षर गलत ढंगले प्रयोग गरिएको हो,’ उनले भने, ‘जनताको भावना अनुसार मधेशवादी दलको नेतृत्वमा सरकार बन्नुपर्छ।’