काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टी नेतृत्वबाट हट्नुपर्ने कि नपर्ने भन्ने निर्णय फेसबुकका पोस्ट वा हल्लाले होइन, पार्टीको केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने बताएका छन्।
मंगलबारदेखि सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू कुनै पनि निर्णयका लागि कमिटीको आदेश मान्न तयार रहेको प्रष्ट पारे।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ,’ ओलीले भने,‘कमिटीले भन्यो भने जनुसुकै निर्णय गर्न तयार छु।’ ओलीले केही नेताहरू लोकप्रियताको पछाडि लागेको टिप्पणी गर्दै पार्टीभित्रका समस्या बाहिर लगेर हल्ला फैलाउनेहरूलाई कटाक्ष गरे। उनले विरोधीहरूले पार्टी कार्यालय च्यासल र नेताहरूको घर जलाएको आरोप पनि लगाए।
आफू कहिल्यै पनि नबिग्रिएको दाबी गर्दै उनले भने, ‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई देशभक्ति, राष्ट्रिय स्वाधीनता र विकासको दृष्टिकोण छोड्नुपर्ने हो भने केपी ओलीले छोड्दैन।’ ओलीले पार्टीभित्र छलफल नगरी बाहिर विरोधीका लहैलहैमा लाग्नेहरूलाई सप्रिनुपर्ने टिप्पणी गरेका छन्।


0 comment