काठमाडौं - मधेस प्रदेश सभाको दुई ठुलो दल कांग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले सरकार बनाउनका लागि दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमाले बाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नकालागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ ।
सोनललाई यी ५ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेसमा सरकार निर्माणका लागि १ सय ७ सदस्यीय मधेसको प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ । यसअघि कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरी एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माणका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको थियो । तर जनमत पार्टी कांग्रेस एमाले खेमा छोडेर यो खेमामा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग पक्का भएको छ ।
लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सक्रियता देखाउँदै कांग्रेस एमालेलाई सत्ता बाहिरै राखेर सरकार निर्माणको वातावरण निर्माण गर्न सफल भएका छन् ।


0 comment