काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् ।

‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

देउवाको मन्तव्य लगत्तै बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ ।बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए ।

 जनजी प्रदर्शनकारीहरुको कुटाईबाट घाइते भएका देउवा लामो समयको उपचारपछि पार्टी केन्द्रीय कार्यसमितिको बैठकमार्फत सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक भएका हुन् । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन्।