काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बलमिच्याँइले बनेको भन्दै संविधानसम्मत नभएको आरोप लगाएका छन्।
भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री सुशीला कार्की शर्त राखेर पद सम्हालेको दाबी गरे। उनले संविधानविपरीत संसद् भंग गर्ने सर्तमा कार्की प्रधानमन्त्री बनेको बताए।
‘सरकार छ तर संविधान अनुसार बनेको छैन,’ ओलीले भने, ‘प्रधानमन्त्री बन्नका लागि संसद् भंग गरिन्छ भन्ने सर्त राखिएको छ, जुन लोकतन्त्रको अपमान हो।’
उनको भनाइ अनुसार प्रधानमन्त्री बन्ने सर्तमा ‘देशमा जेनजीले आगो बाल्छ’ भन्ने चेतावनीसहित कार्कीले पद ग्रहण गरेकी हुन्।
ओलीले पूर्वप्रधानन्यायाधीश कुनै पनि सरकारी पदमा नियुक्त हुन नसक्ने प्रावधान संविधानमा स्पष्ट रहेको भन्दै कार्कीको नियुक्ति असंवैधानिक भएको जिकिर गरे।
‘उहाँ आफैं संविधान व्याख्या गरेर आउने व्यक्ति हो, तर संविधानविपरीत प्रधानमन्त्री बन्नुभयो,’ उनले भने, ‘२३ गते सडकमा उत्रिनुभयो, २४ गते प्रधानमन्त्री बन्नुभयो केका लागि आन्दोलनमा उत्रनुभयो?’
त्यस्तै, ओलीले सरकार ‘सडक तमासामा’ लागेको आरोप पनि लगाए। उनले गृहमन्त्रीलाई राजनीति गम्भीर विषय हो भन्ने बुझेर जिम्मेवारीपूर्वक चल्न चेतावनी दिए।
‘गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु,’ ओलीले भने, ‘राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा गम्भीर हो।’


0 comment