काठमाडौं - ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो ।
यसै क्रममा महानगरले शनिवार कार्तिक नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण गर्यो । महानगरले आर्थिक वर्ष २०७८/७९को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो । कार्तिक नाचको अक्षयकोष अब एक करोडको भएको छ ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचहरुको अस्तित्व संकटमा परेकाले अक्षयकोषका लागि सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘झन्अघिल्लो वर्ष मैलै कार्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले ललितपुर महानगरप्रमुखले प्रतिबद्धता अनुसार अक्षयकोषका लागि रकम हस्तान्तरण गरेकाले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, अब आर्थिक अभावमा नाच रोकिदैंंन, अब यसलाई बढाएर बढाएर १० करोड बनाउँछौं।
ललितपुर महानगर वडा नं १६का अध्यक्ष निर्मल रत्न शाक्यले सम्पदा संरक्षणमा महानगरले उदाहरणीय काम गरेको बताउनुभयो । वडा बजेटबाट पनि कार्तिक नाचको अक्षयकोषका लागि १० लाख हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो।
हरिसिद्धि भवानीदेवी नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आर्थिक वर्ष २०७८/२०७९मा पनि २५ लाख प्रदान गर्ने महानगरले जनाएको छ । खोकनामा देखाइने रुद्रायणी नाचकालागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/२०७९मा २५ लाख प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैक्रममा महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ ।
२४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताउनुभयो ।
0 comment