काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुनसक्ने आशंका व्यक्त गरेका छन्।
उनले भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनले मुलुकमा ठूलो राजनीतिक हलचल ल्याएको र त्यसले युवालाई सक्रिय भूमिकामा ल्याएको बताए। तर सो आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि सरकारको दमन र हिंसाले स्थिति तनाबपूर्ण बनेको उनको आरोप छ।
प्रचण्डले जेन–जी आन्दोलनको आडमा देशी-विदेशी प्रतिगामी शक्तिहरूले लोकतान्त्रिक उपलब्धिमाथि आक्रमण गरेको, संविधान खारेज गर्ने र दलहरूमाथि प्रतिबन्ध लगाउने षड्यन्त्र भइरहेको जिकिर गरे।
माओवादी केन्द्रले आगामी फागुन २१ मा हुने निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने र त्यसका लागि विचार मिल्ने पक्षहरूसँग एकता र सहकार्यको आवश्यकता रहेको प्रचण्डको धारणा छ।
उनले पार्टीले आत्मसमीक्षा गर्दै संगठनात्मक र वैचारिक दृष्टिले आमूल रुपान्तरण गर्नुपर्ने उल्लेख गरे।
प्रचण्डले आन्दोलनमा भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि पूर्वनियोजित रहेको, त्यसमा जेन–जी युवाहरूको संलग्नता नभई प्रतिगामी तत्वहरूको षड्यन्त्र रहेको दाबी गरे।
प्रचण्डले अबको बाटो विचार, संगठन र संघर्षलाई नयाँ उचाइमा पु-याउँदै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनताको अधिकारको रक्षा गर्ने दिशामा अघि बढ्नुपर्ने बताए।


0 comment