काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमै सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने आवाज उठेको छ । सहकारी ठगीमा अहिले नख्खु जेलमा रहेका लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको हो।
मंगलबार केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति पद छाड्नुपर्ने प्रस्ताव प्रदेश सभापतिहरूले गरेका हुन् ।
मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने भन्दै रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका छन् । अन्य तीनवटा प्रदेशका सभापतिहरू भने यसबारेमा मौन देखिएका छन् ।
उनीहरूले विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा राखेका छन् । त्यसैगरी बैठकमा गत भदौ २४ गते हुलदंगा गर्दा ललितपुरस्थित नख्खु कारागारबाट रवि निस्किएको विषय पनि उठेको छ।
रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित नेताहरु पुगेको विषयलाई लिएर बैठकमा कुरा उठाइएको छ ।


0 comment