काठमाडौं - काठमाडौं उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया) बिहीबार साँझ इन्द्रध्वजापातनसँगै सम्पन्न भएको छ। यस वर्ष देशमा जारी राजनीतिक अस्थिरता र सुरक्षाका कारण अन्तिम दिनको नानीचा याः (कुमारी रथयात्रा) भने स्थगित गरिएको छ।

बिहीबार साँझ ५:३८ बजे शुभ साइतमा हनुमानढोकास्थित बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको प्रमुख प्रतीक इन्द्रध्वजा (लिङ्गो) विधिपूर्वक ढलाइएको थियो। यससँगै आठ दिन लामो इन्द्रजात्रा विधिवत रूपमा सम्पन्न भएको हो।

परम्परागत रूपमा इन्द्रजात्राको अन्तिम दिन काठमाडौंका तीन जीवित देवी–कुमारी, गणेश र भैरवको रथयात्रा निकालिन्छ। तर यस वर्षको इन्द्रजात्रामा राजनीतिक अशान्ति र सार्वजनिक सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै रथयात्रा नगरी कुमारी घरमै विधिपूर्वक पूजा गरी पर्व समापन गरिएको छ।

साइत फेरिएर साँझ ढलाइयो लिङ्गो

यस वर्ष इन्द्रध्वजापातनको मूल साइत बिहीबार बिहान १०:३२ बजे तोकिएको भए पनि परिस्थिति विश्लेषणपछि साँझ पुनः साइत निर्धारण गरी साँझ ५:३८ मा लिङ्गो ढालिएको हो। रथयात्रा नगरे पनि साँस्कृतिक परम्पराअनुसार भक्तजनहरूको उपस्थितिमा विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको थियो।

जेनजी आन्दोलनको असर सांस्कृतिक पर्वमा

राजधानीमा पछिल्लो समय देखिएको जेनजी आन्दोलन, हिंसा र कर्फ्युका कारण यस वर्षको इन्द्रजात्रा अपेक्षाकृत शान्त र सीमित उपस्थितिमा सम्पन्न भयो। सुरक्षाको कारण अधिकांश कार्यक्रमहरू संक्षिप्त गरिएका थिए भने प्रशासनले भीडभाड नगर्न अनुरोध गरेको थियो।

इन्द्रजात्रा काठमाडौं उपत्यकामा विशेष गरी नेवार समुदायले धूमधामले मनाउने पर्व हो, जुन शक्ति र वर्षाका देवता इन्द्रको सम्मानमा मनाइन्छ। यो पर्व ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।