काठमाडौं - खराब मौसमका कारण यमनको किनारमा डुंगा डुब्दा ५० भन्दा बढी आप्रवासीको ज्यान गएको छ। 

हालसम्म १० जनालाई मात्र उद्धार गरिएको छ भने दर्जनौं अझै बेपत्ता छन् ।

करिब १५० जना लिएर गइरहेको डुंगा  यमनको दक्षिणी प्रान्त अबयानको तटमा डुबेको हो।  

धेरैजसो मृतकहरू इथियोपियाली नागरिक भएको विश्वास गरिएको छ। यो घटनालाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले हृदयविदारक भनेको छ।

यमन अफ्रिकाको होर्न क्षेत्रबाट खाडी मुलुकहरूतर्फ रोजगारीको खोजीमा जाने आप्रवासीहरूका लागि प्रमुख मार्गका रूपमा रहँदै आएको छ।  पछिल्ला केही महिनामा सयौं आप्रवासीहरू डुंगा दुर्घटनामा ज्यान गुमाएका वा हराएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका यमन प्रमुख अब्दुसत्तोर एसोएभले अबयानको खानफर जिल्लामा ५४ जना आप्रवासीको शव फेला परेको र थप १४ जनालाई प्रान्तीय राजधानी जिनजिबारस्थित अस्पतालको शवगृहमा लगिएको छ।

अबयान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार कार्य व्यापक रूपमा भइरहेको उल्लेख छ र धेरै शवहरू तटको फराकिलो क्षेत्रमा फेला परेको एपीले जनाएको छ।

संगठनका प्रवक्ताले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आप्रवासीहरूको सुरक्षाका लागि थप कदम चाल्न आवश्यक रहेको बताए।

संगठनले यसअघि अफ्रिकाको होर्न क्षेत्रदेखि यमन सम्मको यात्रा विश्वकै सबैभन्दा व्यस्त र खतरनाक मिश्रित आप्रवासन मार्गहरू मध्ये एक भनेको थियो।

यसै वर्षको मार्च महिनामा यमनको धुबाब जिल्लामा १८० भन्दा बढी आप्रवासी बोकेका दुई डुंगा खराब मौसमका कारण डुबेका छन् ।  जसमा दुई चालक बाहेक अरू सबै बेपत्ता भएका थिए।

यमनका आप्रवासी सहायता केन्द्रहरूमा आइ पुगेका आप्रवासीहरूले पनि मानव तस्करहरू अझै लापरवाह हुँदै गइरहेको र गस्ती टोलीहरूबाट बच्न उनीहरूले डुंगाहरूलाई जानाजान खतरनाक अवस्थामै पठाउने गरेको रिपोर्टमा उल्लेख छ।

जोखिमका बाबजुद धेरै आप्रवासीहरू यात्रा गर्न बाध्य छन्। २०२४ सालमा मात्र ६० हजार भन्दा बढी आप्रवासीहरू यमन पुगेका छन्।

गएको दशकमा  यो मार्गमा ३ हजार ४ सय भन्दा बढी आप्रवासीहरू हराएका वा मृत्यु भएका छन् जसमा १ हजार ४ सय भन्दा बढी डुबेर ज्यान गुमाएका छन्।