काठमाडौं - काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।
महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् । छनोट विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका लागि ४ हजार १६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् ।
छात्रवृत्ति प्रवेश परीक्षा भोलि (शनिबार) बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिनेछन् ।
उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ । गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन । छनोट भएका विद्यार्थीले साउन १ देखि महानगरको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/ मार्फत प्रवेशपत्र डाउनलोड गर्न सकिने प्रावधान पनि मिलाइएको छ ।
महानगरको शिक्षा विभागले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालन, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिका व्यवस्थापन र अनुशासनसम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । अभिमुखीकरणमा सहरी योजना आयोगका सदस्य, सहायक विज्ञ, शिक्षा विभागका कर्मचारी र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता थियो ।
अभिमुखिकरण सामग्रीमा केन्द्राध्यक्षहरूको जिम्मेवारी, परीक्षा व्यवस्थापन, सम्भावित चुनौतीको समाधान र सुरक्षात्मक उपायहरू समेटिएका छन् । केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टाअगावै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्नेछ । प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागु गरिएको छ र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
यस्ता छन्- छात्रवृत्ति परीक्षामा उम्मेदवारले पालना गर्नुपर्ने नियम :
१. परीक्षामा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य ल्याउनुपर्नेछ । प्रवेशपत्रविना सहभागी हुन पाइने छैन । केन्द्राध्यक्ष वा निरीक्षकले मागेमा प्रवेशपत्र देखाउनुपर्नेछ ।
२. सुरक्षा जाँचका लागि परीक्षार्थी परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टाअगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनु १५ मिनेटअघि सूचनापछि मात्र हलमा प्रवेश गर्न पाइनेछ ।
३. केन्द्राध्यक्षको निर्देशन पालना गरी तोकिएको स्थानमा बसी परीक्षा दिनुपर्नेछ । केन्द्राध्यक्ष, निजले तोकेको व्यक्ति वा निरीक्षण टोलीले जुनसुकै बेला खानतलासी गर्न सक्नेछ ।
४. केन्द्राध्यक्षको अनुमतिविना परीक्षा हल वा भवन छाड्न पाइने छैन । महानगरपालिकाबाट सूचना नभएमा परीक्षा सर्ने छैन ।
५. किताब, नोटबुक, गाइड, कापी, चिट, क्यालकुलेटर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट, हातहतियार, अवैध पदार्थ, विद्युतीय उपकरण, वालेट, पर्स वा घडी (स्मार्ट वाच) परीक्षा केन्द्रमा लैजान निषेध छ ।
६. परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई हलमा प्रवेश दिइने छैन । परीक्षामा अनिवार्य हाजिरी गर्नुपर्नेछ ।
७. कालो जेल पेन परीक्षार्थीले आफैं ल्याउनुपर्नेछ । ओएमआर सिटमा सही उत्तर पूर्ण रूपमा भर्नुपर्नेछ । प्रश्नपत्रको ‘सेट’ ओएमआर सिटमा अनिवार्य लेख्नुपर्नेछ । नलेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । सही उत्तरको ए, बी, सी, डीमा कालो पेनले बबल भर्नुपर्नेछ ।
८. सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएको उत्तरलाई अंक दिइने छैन ।
९. निर्धारित दुई घण्टा समय समाप्त भएपछि मात्र परीक्षार्थी हलबाट बाहिर जान पाउनेछन् । प्रश्नपत्र निरीक्षकलाई फिर्ता गर्नुपर्नेछ ।
१०. नक्कली परीक्षार्थी खडा गरेमा वा प्रयास गरेमा परीक्षा रद्द गरी कानुनअनुसार कारबाही गरिनेछ ।
११. आपसमा कुराकानी वा संकेत गर्न निषेध छ । नक्कल गरेको पाइएमा नक्कल गर्ने र गर्न दिने दुवैलाई निष्कासित गरिनेछ ।
१२. परीक्षा मर्यादाविपरीत कार्य गरेमा, अनियमितता गरेमा, अर्को व्यक्तिले परीक्षा दिएमा, उत्तरपुस्तिका नबुझाई लगेमा वा च्यातेमा निष्कासन गरी कानुनअनुसार कारबाही गरिनेछ र परीक्षा रद्द हुनेछ ।
१३. उत्तरपुस्तिका बुझाएर बाहिर गएपछि पुनः परीक्षा कोठामा प्रवेश गरी परीक्षा दिन पाइने छैन ।
१४. बिरामी परीक्षार्थीले परीक्षा दिँदा कुनै समस्या भए समिति जिम्मेवार हुने छैन ।
१५. उत्तरपुस्तिकामा तोकिएको स्थानबाहेक अन्यत्र लेखेमा वा संकेत गरेमा परीक्षा रद्द हुनेछ र परीक्षाफल प्रकाशित हुने छैन ।


0 comment