काठमाडौं - नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको ६८२औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

यसअघि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आईएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष काम गरेको अनुभव छ ।

बैंक सञ्चालक समितिले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी-सचिवको जिम्मेवारी दिएको छ ।