काठमाडौं - नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ ।

बुधबार एक विशेष समारोहबीच जाजू ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजूले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरे ।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो । सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो ।

यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू- ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ । कम्पनीले यी उत्पादनहरू भारतलगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ ।

करिब अढाइ बिघामा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिने एसियन थाई फुड्सले जनाएको छ । कम्पनीका अनुसार क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ । यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।