काठमाडौं - सान्भी इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरले आठ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका दुई लाख ९१ हजार कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि इलामको इलाम नगरपालिका १० (साबिकको गोदक गाविस का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका १ (साबिकको नयाँ बजार गाविसका १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका ३ र ४ (साबिकको नाम्सालिङ गाविसका १ देखि ९ नम्बरसम्मका वडा तथा नयाँबजार गाविसको वडा नम्बर ५), सूर्योदय नगरपालिका १० (साबिकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका १ (साबिकको पञ्चकन्या गाविस का २, ६, ८ नम्बर वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा वैशाख १९ गते हुनेछ भने ढिलोमा जेठ ३ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।