काठमाडौं - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकाले कृषिमा डिप्लोमा गर्न प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने व्यवस्‍था गर्ने भएको छ ।

पदबहाली गर्दै पालिकाका नवनिर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तीमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्‍था गर्ने, न्युनतम विद्युत उपभोग गर्ने घरधुरीमा निशुल्क विद्युतको व्यवस्था गर्ने, वर्षमा कम्तिमा एकपटक निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नेलगायतका योजना सार्वजनिक गरेका हुन्। उनले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने प्रतिवद्धता समेत व्यक्त गरे । 

श्रेष्ठले एक घर एक धाराको अभियानलाई पूर्णता, लिफ्टिंग खानेपानीको विद्युत महशुलमा ५० प्रतिशत अनुदान, विपन्न नागरिकलाई निशुल्क स्वास्थ विमा उपलब्ध गराउने तथा सडक र अन्य पूर्वाधारको स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेबाट शपथ खाएका गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पालिका उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ खुवाएपछि उनीहरुले पदभार सम्हालेका हुन्।

पालिकाका उपाध्यक्षसहितका जनप्रतिनिधिहरुलाई शपथ खुवाए लगत्तै वैदिक विधिपूर्वक मन्त्रोच्चारणसहित अध्यक्ष चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष मनी पन्थीले पद बहाल गरे।