काठमाडौं - नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १६औं वर्षमा प्रवेश गरेको छ ।

वित्तीय प्रविधिमा नवीनतम सेवा थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिबद्धताका साथ १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । ‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसलाई सहज वित्तीय सेवाहरुको पहुँच पुर्याउदै आइरहेको इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटेल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्सोरेन्सलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर , मर्चेन्ट लिंकजस्ता सुविधा दिँदै आइरहेको छ ।

लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसैगरी इसेवाको दुई लाख ६८ हजारभन्दा बढी एजेन्ट र चार लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

इसेवाले आगामी दिनहरुमा आफ्नो सेवाहरु विस्तार गर्ने योजनाहरु बनाइ रहँदा आफ्नो प्रयोगकर्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ फिचरहरु ल्याउनुका साथै तिनको स्तरोन्नतिमा समेत कार्यरत रहने प्रतिबद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।

यसै क्रममा इसेवाले हालसालै ल्याएको नयाँ फिचर हो फाइनान्स ३६०, यसको साथ ग्राहकले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरु हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चका लागि बजेट पनि निर्धारण गर्नेजस्ता विशेषताहरु रहेको छ । यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनीकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।

त्यसैगरी इसेवाले आफ्नो ग्राहकहरुको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुविधा पनि ल्याएको छ । यसअन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरु अग्रिम टिपोट गरी राख्न सकिन्छ र इसेवा क्यान्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरु जाँच तथा व्यवस्थापन गर्न सकिन्छ ।

पहिला सेड्युल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नु पर्‍थ्यो भने इसेवा क्यालेन्डरको मद्दतले ग्राहकहरुले आफूले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरु सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ । त्यसैगरी यस क्यालेन्डरमा इसेवामार्फत आफूले गरेको टिकट, होटेल, फ्लाइट बुकिङजस्ता कारोबारहरु पनि देखिनेछ ।

योसँगै ग्राहकहरुले निश्चित समयमा नियमित गरिरहने बिजुली, खानेपानीजस्ता भुक्तानीहरु पनि यस क्यालेन्डरमा देखिनेछ जसले गर्दा ग्राहकरुको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन । यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकहरुले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादि जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् ।

इसेवा क्यलेन्डर इसेवा एपभित्र रहनेछ । ग्राहकहरुको सहजताका लागि ग्राहकहरुले आफ्नो मोबाइलको विजिटमा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाहरुले ग्राहकहरुलाई थप सुविधाजनक वित्तीय सेवाहरु प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय समावेशीकरणतर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।