काठमाडौं - उद्योगी व्यवसायीले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।
व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व सङ्कलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व सङ्कलन गर्न सक्ने बताएका हुन् ।
भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासङ्घमा बिहीबार आयोजित ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।
अर्थसचिव डा रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्नेगरी नै नीतिगत सुधार गर्दै आइरहेको धारणा राखे । उनले भन्सारको प्रमुख उद्देश्य राजस्व सङ्कलन नभई व्यापार सहजीकरण र निर्यात प्रवर्द्धन नै भएको बताए ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेकोमा जोड दिए । भन्सारले राजस्व मात्र सङ्कलन गरेको नभइ समग्र मुलुकको आपूर्ति शृङ्खलालाई व्यवस्थित गरी लगानी प्रवर्द्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु नहुने उनले बताए ।
अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्सन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसद्मा टेबल हुन लागेको विषय सराहनायोग्य रहेको उल्लेख गरे ।
उनले प्रविधिसँगै भौतिक पूर्वाधारहरूको पनि व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान रहने भएकाले निर्माणाधीन आइसिपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला र महत्त्वपूर्ण भन्सार कार्यालयमा थप पूर्वाधारको विस्तारमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए ।
भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवर्द्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्नेगरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार क्षेत्रमा व्यवसायीले भोग्नुपरेका समस्या र सहजीकरणका विषयमा प्रस्तुतिकरण दिए ।
अन्तर्राष्ट्रिय भन्सार सङ्गठनले २०२५ लाई ‘दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल उद्देश्यका साथ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै छ । यो दिवस हरेक वर्ष जनवरी २६ मा मनाउने गरिन्छ ।


0 comment