काठमाडौं - अर्थतन्त्र शिथिल हुँदा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकुचन आए पनि खुद मुनाफा भने गत आवकै हाराहारीमा देखिएको छ ।
वाणिज्य बैंकहरुले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा थोरै मात्र बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले यही पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबल आईएमई बैंकले तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
प्राइम कमर्सियल बैंकले पनि चालु दोस्रो त्रैमासमा एक अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रभु बैंकले एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकले यस अवधिमा क्रमशः २७ करोड ५७ लाख ३० हजार, दुई अर्ब ८३ करोड २३ लाख २६ हजार र दुई अर्ब सात करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
यसैगरी एनएमबी, सानिमा, हिमालयन र माछापुच्छ्रे बैंकले पनि क्रमशः दुई अर्ब ३५ लाख ४० हजार, एक अर्ब १९ करोड २३ लाख ११ हजार, एक अर्ब ५१ करोड ८७ लाख ७० हजार ८० करोड ७३ लाख २७ हजार रुपैयाँ नाफा कमाएका छन् ।
पछिल्लो अवधिमा लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने क्रमशः एक अर्ब १६ करोड २० लाख ७६ हजार, ९० करोड दुई लाख ८१ हजार र एक अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।
सिद्धार्थ, कृषि विकास र सिटिजन्स बैंकले भने पछिल्लो अवधिमा क्रमशः ५३ करोड दुई लाख २९ हजार, ९५ करोड ७५ लाख ४९ हजार र ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
यसैगरी एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १५ करोड १७ लाख ३० हजार, ७६ करोड ३० लाख ३३ हजार र ४६ करोड १० लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् ।


0 comment