काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा (एनपीएल) बढेर चार दशमलव ६८ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आवको पाँच महिनाको बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा निष्क्रिय देखिएको हो ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव शून्य दुई प्रतिशतले बढी हो । गत आवमा सोही अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७  फाइनान्ससहित कुल ५४ संस्थाले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

वाणिज्य बैंकहरुमा देखिएको यो निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

विकास बैंकहरुले भने पछिल्लो अवधिमा ६ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव २८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो पाँच महिनाको अवधिमा एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा नौ दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा आठ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।