काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हप्तामा दुई दिन कार्यकर्ता र नागरिकको गुनासो सुन्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

आफ्नै निवास बुढानिलकण्ठमा आज (बिहिबार) मन्त्रीहरुलाई बोलाएर सातामा दुई दिन खुला रुपमा भेटघाट गरेर उनीहरुको सल्लाह सुझाव अनुरुप जनमुखी काम गर्न  सभापति देउवाले निर्देशन दिएका हुन् ।

छलफलमा मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर काम गर्दाको सफ्ट्यारा र अप्ठयारा परिस्थितिका बारेमा समेत उनीहरुले जानकारी गराएका थिए । केही मन्त्रीहरुले भने बजेटको अभावले सोचे अनुरुपको काम देखाउन नसकेको बताएका थिए ।

प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।’कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी छन् ।