काठमाडौं - मुलुकबाट बाहिरिने भन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।

यस्तै, चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब छ करोडले बचतमा रहेको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब ४७ करोड रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह तीन अर्ब ६५ करोड रहेको थियो । 

चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८ दशमलव तीन प्रतिशत र तीन प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पार्टिकल बोर्ड, पिना लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ । 

यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः शून्य दशमलव नौ प्रतिशत र दुई दशमलव नौ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा पाँच  प्रतिशतले कमी आएको छ । 
 
निर्याततर्फ  भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । 

आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैङ्कको विवरणमा उल्लेख छ ।