काठमाडौं - कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् ।
लालबन्दी नगरपालिका- ९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् ।
विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो ।
उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ ।
उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ ।
ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ ।
छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका- ४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए ।



0 comment