नेपाल कृषि प्रधान मुलुक हो । यहाँका ६५% मानिसहरु कृषि पेशामा आवद्ध छन् । पहिले यो संख्या ८५% मानिन्थ्यो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या वाक्लिएसँगै कृषि पेशा अपनाउनेहरुको संख्या ह्वात्तै घटेको हो । बढ्दो बसाई सराई र सहरीकरणले पनि खेती योग्य जमिन कंक्रिटमा परिणत भईरहेको छ । अर्कोतिर श्रम शक्तिको अभावमा दुर्गम ग्रामिण भेकका जमिनहरु पर्ति बनिरहेका छन् । यसको सिधा असर उत्पादनमा परिरहेको छ । २०२६ साल तिर आजको समृद्धि दक्षिण कोरियालाई नेपालले खाद्यान्न सहयोग गरेको इतिहास छ । नेपालले पहिले भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकहरुमा खाद्यान्न निर्यात गर्दथ्यो । सरकारले धान, चामल निर्यात कम्पनी नै गठन mगरेर खाद्यान्नको व्यापार गरेको कुरा स्मरणीय छ । तर अहिले नेपाल खाद्यान्नमा पुरै परनिर्भर भएको छ । भारतले चामल निर्यात रोक्ने हो भने नेपालीहरु अनिकालको चपेटामा पर्छन् । यो हाम्रो मुलुकको कृषि प्रणालीको अत्यन्त दयनीय स्थितिको पराकाष्ठा हो ।
नेपालमा धेरै कृषियोग्य जमिन धनी वर्गको नियन्त्रणमा छ । कृषि उत्पादन क्षेत्रमा सामन्तवादी प्रणाली विद्यमान छ । काठमाडौ वा अन्य सहरमा बस्ने धनीहरुले गाउँका कृषियोग्य जमिनको ठुलो हिस्सा ओगटेका छन् । खेती गर्ने किसानहरुसँग आफ्नो जमिन छैन । अधियाँ, ठेक्का करार (लिज), त्रिखण्डीमा खेती गरिने भएकाले उत्पादनमा निरन्तर क्षयीकरण हुँदै गईरहेको छ । असन्तुलित विकासे मोडलले दुर्गम र पहाडीक्षेत्र उपेक्षित हुँदा जनसंख्या पलायन मात्र होइन, निरन्तर घट्दो छ । तराईमा सुकुम्वासी, ऐलानी, पर्ति जग्गाका बसोबासहरु अव्यवस्थित छन् । पहाडबाट तराई बसाई सराईका कारण त्यहाँका जमिन, जंगल, बाँझो चरणमा परिणत हुँदै गएको छ ।
बसाई सराईको चाप तराईले खेप्न थालेको छ । नेपालको कृषि प्रणाली केवल निर्वाहमुखी र परिवार धान्नमात्र लक्षित छ । कृषिमा आधुनिकीकरण हुन सकेको छैन । यान्त्रिकरणद्वारा महंगो उत्पादन लागत घटाउन सकिन्छ । ट्याक्टर र थेचरको प्रयोग नै यान्त्रिकरणको नमुना बनेको छ । किसानलाई आफ्नो लागत उठाउन समेत हम्मे छ । कृषिको व्यवसायीकरण हुन सकेको छैन । किसानको नगद आम्दानीको श्रोत छैन । उखु किसानहरुले उखु उत्पादन गरेर पनि चिनी मिललाई उधारोमा बेच्न बाध्य छन् । चिनी मिलले उधारो उखुको भुक्तानी नदिएर उखु किसानहरु आन्दोलन गर्न बाध्य छन् । बालीनाली लगाइने जमिन प्रत्येक बर्ष सरदर आठहजार हेक्टरका दरले घटिरहेको छ । ‘प्लटिङ’ का नाममा लाखौं हेक्टर जमिन बाँझो राखिएका छन् ।
सिँचाई सुविधाको व्यापक विस्तार हुन सकेको छैन । किसानहरु आकाशे पानीको भरमा छन् । ग्लोवल वार्मिङका कारण कहिले खडेरी त कहिले अति वर्षा अनि खण्ड बर्षा हुनाले समयमा खेती लगाउन किसानहरुले सक्दैनन् । यसले उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ र गरिबीको प्रतिशत बढ्दै गएको छ । कृषि, पशु, बाली, विमामा किसानहरुको पहुँच पुग्न सकेको छैन । सामुहिक खेती प्रणाली, चक्काबन्दी, सहकारी र साझेदारी फार्म निर्माण हुन सकेका छैनन् । वन्यजन्तु रोग, किरा आदिबाट संरक्षण र उपचार व्यवस्था सरकारले नगरेका कारण किसानहरु पेशामा निरुत्साहित देखिन्छन् । कृषिलाई व्यवसायीकरण गर्ने गरी उत्पादन गर्ने लक्ष्य राखिएको पाइदैन । जसका कारण युवाहरुको कृषिमा चासो देखि नै छोडेको छ ।
आधुनिक प्रविधि, उन्नत विउविजन, बहुवाली विकास, मलखाद, विषादीको प्रयोग, उच्च नश्लीय पशुको सहज उपलब्धता छैन । यदि धेरै उत्पादन भई नै हाल्यो भने पनि भण्डारणको समस्या उत्पन्न हुन्छ । शीत भण्डारहरु आवश्यकता अनुसार छैनन् । कृषि उत्पादित बस्तुको बजारीकरणको समुचित व्यवस्था पनि छैन । विचौलिया मोटाउने र किसान उपभोक्ता दुब्लाउने स्थिति कायमै छ । कृषि उत्पादन विनिमय प्रणाली पनि एकाधिकारमा आधारित छ । कृषि उत्पादन खरिद विक्री केन्द्र, बजारीकरण तथा व्यवसाय सञ्चालन गर्ने ठाउँ सहज र पर्याप्त छैनन् । यसले कामै नगरी बीचमा बसेर दलाली गर्ने पेसा फस्टाएको छ । किसानले उत्पादन गरेका कृषि फसल सडकमा फाल्नु पर्ने अवस्था विद्यमान छ । बजारीकरण र विक्रीवितरण केन्द्रमा किसानको सरल पहुँच नभएकोले विचौलियाको लुटपाट रोकिएको छैन ।
कृषि क्षेत्र आयातमुखी हुँदै गएको छ । धान, चामल, दाल, गहुँ, आलु, पिठो, तेल, लसुन, प्याज, फलफुल, सागसब्जी, राँगा, च्यांग्रा, खसिबोका, अण्डा, कुखुरा, चल्ला जस्ता आधारभूत उपभोग्य खाद्यवस्तुहरु समेत आयातमै निर्भर छ । भारतबाट नै प्रायसः वस्तुहरु आयात हुन्छन् । लसुन, प्याज र फलफुल चीनबाट पनि ठूलोमात्रमा आयात हुन्छ । तीन महिनामा ४६ अर्बको चामल आयात हुनुले हाम्रो कृषि क्षेत्रको दुर्गतिलाई सतहमा देखाउँछ ।
कृषिलाई कर्मका रुपमा विकास नगरिएसम्म यो क्षेत्र उँभो लाग्दैन । पढेलेखेका युवाले कृषिमा काम गर्न शर्माउनु पर्ने अवस्था छ । पढेर पनि बाख्रा, गाई, कुखुरा पालेर बसेको छ भनेर खिस्खि गर्ने गरिन्छ । कृषि पेशालाई सामाजिक सम्मानको क्षेत्रमा रुपान्तरण नगर्ने हो भने यो पेशा युवाहरुले अंगाल्दैनन् । श्रम गर्नेको सम्मान हाम्रो समाजले गर्दैन ।
खेती किसानी गर्नु तुच्छताको प्रतिक बनेको छ । किसानको कहिँकतै इज्जत गरिदैन । किसानहरु भनेका हाम्रा अन्नदाता हुन भन्ने सामाजिक मानसिकता नै छैन । ‘खायो ढिडो, हल्लियो हिड्यो’ जस्तै मानिन्छ कृषि व्यवसाय । पशुपालन गर्नेहरुलाई आफ्नो पेसाको गौरवबोध गर्ने वातावरण नेपालमा छैन । राम्रो कृषि व्यवसाय गर्नेलाई सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र हरेक बर्ष उत्कृष्ट कृषक सम्मान दिने नीति सरकारसँग छैन । भन्सारमा खरिदारको जागिर खानेले सहरमा पाँचतले हवेली बनाउँछ । दिनरात पसिना बगाउने किसानको घरको छानाबाट बर्षातमा पानी चुहिन्छ । न सामाजिक मर्यादा छ न आत्म सम्मान बोधको स्थिति । सोचमा बदलाव नआएसम्म कृषि पेसामा युवाहरुको आकर्षक झनै घट्दै जाने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरुको लर्कोले नै बताउँछ देशमा गरिखाने उपाय छैन ।
हाम्रो शिक्षा प्रणाली नै बेरोजगार उत्पादन गर्ने प्रकृतिको छ । शिक्षालाई कृषि प्रविधि, उत्पादन, उद्योगमा आधारित, प्रयोजनपरक, प्रयोगात्मक, व्यवहारिक, उपयोगी हन आवश्यक छ । विद्यार्थी जीवन टुंंग्याउँदा सिप, दक्षता, क्षमता आफुसँग लिएर निस्केमात्र व्यक्तिले केही गर्न सक्छ । हाम्रो शिक्षा प्रणाली घोकन्ते छ । डिग्राी त हुन्छ त दक्षता हुँदैन । डिग्रीले काम गर्दैन सीप र दक्षताले काम गर्छ । यस्तो शिक्षा प्रणालीले देशमा ठूलो मात्रामा शिक्षित बेरोजगारको संख्या बढाएको छ । यहाँ काम नपाएपछि भविष्य नदेखेपछि युवाहरु २० औं लाख दलाललाई बुझाएर मेक्सिकोको जंगलमा भौतारिन बाध्य छन् । सरकार कृषि व्यवसाय प्रति कहिले नीति लिएर देखापर्ने हो ?



0 comment