काठमाडौं - नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ ।
संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले बताउनुभयो
इलामको सूर्योदय- १, माइजोगमाई- १ र झापाको मेचीनगर- ५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ ।
इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।
संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चिया मध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी विदेश निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् ।
उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।
0 comment